पार्टीको अभियान सफल भएको माओवादी बैठकको निष्कर्ष
गठबन्धन लाभदायक बन्न सकेन : अध्यक्ष प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ ।
सोमबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले समग्र रूपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अभियानको समीक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा विभाजन गरेको छ ।
शतप्रतिशत खट्ने कार्यकर्तालाई प्रशंसा पत्र वितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशतभन्दा कम खट्नेहरूलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए । बैठकले तराई मधेस जागरण अभियान र उत्तर-दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रूपमा वैचारिक बहस गरिने उनले जानकारी दिए ।
त्यस्तै बैठकले जवस र मोर्चाहरूले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरूको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । उनले कूटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।
बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ । माओवादीको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म चल्दै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया