तत्काल महाधिवेशनको सुनिश्चितता गर्न नेविसंघ अध्यक्षलाई दबाब
काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघकै महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिएको छ ।
सङ्घको महाधिवेशन पक्षधर टोलीले अध्यक्ष शेर्पालाई संघको केन्द्रीय कार्यालय अनामनगरमा आज ज्ञापनपत्र बुझाएर तत्काल महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो । नेविसंघका नेता सुभाष पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल महाधिवेशनको सुनिश्चितता नगरिए थप दबाबका कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।
अध्यक्ष शेर्पालाई बुझाइएको ज्ञापन पत्रमा ११५ भन्दा बढी केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले यसअघि अध्यक्षले समन्वयबिना बोलाएको केन्द्रीय समितिको पहिलो बैठक पनि बहिष्कार गरेका थिए ।
महाधिवेशन गर्नका लागि गठन गरिएको अहिलेको समितिले महाधिवेशन नै गर्ने आधार नदेखेकाले बैठकमा सहभागी हुनु औचित्य नठानेर बैठकमा नगएको उनीहरूको भनाइ छ । असन्तुष्ट पक्षले अध्यक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ । उनीहरूले देशभरका विद्यार्थीहरूको भावना अनुसार संगठनलाई सामूहिक नेतृत्वका साथ सञ्चालन गर्न माग गरेका छन् ।
नेविसंघमा तदर्थवाद वा मनोनीतको प्रवृत्ति अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया मातहतका समितिहरूमा पनि तत्काल अवलम्बन गर्न माग गरेको अर्का केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया