Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकबाट १८ बुँदे प्रस्ताव पारित

इकागज |
जेठ ३, २०८१ बिहीबार १४:२० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि विपिन जोशी हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो । 

बैठकबाट पारित प्रस्तावहरू: 


१. हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को मिति २०८१ असार १६ देखि २० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा यो बैठक वैचारिक, राजनीतिक, सांगठनिक तथा भौतिक रूपमा योगदान गर्न आह्वान गर्दछ ।

२. कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।

३. मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौंको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको छ । कैयन् घाइते र घरबारविहीन भएका छन् । यो बैठक आगलागीमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष माग गर्दछ ।

४. आगामी मनसुनको समयमा सामान्यभन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएका समाचारहरू प्राप्त हुन थालेका छन् । तसर्थ विषम मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारीमा रहन यो बैठक सरकारलाई आह्वान गर्दछ र नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ ।

५. वर्षाको सुरूवात भएपछि मुलुकभर रोपाइँको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा धान रोपाइँको लागि आवश्यक पर्ने बिऊबिजन र मलखादको आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

६. अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ । उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ । उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ ।

७. उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरीक्षण प्रणालीजस्ता संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो बैठक नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ ।

८. नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीब्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सुचारु गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानुन एवम् छिटो–छरितो कार्यविधि निर्माण गर्न यो बैठक सरकारसँग माग गर्दछ । वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाहरूको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सृजना गर्ने साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल/वस्तुमा भन्सार कम गर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाहरूको अन्त्य गरी उत्पादनमैत्री कानुनी व्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।

९. हाम्रो पार्टीले विभिन्न समयमा देशका आर्थिक तथा राष्ट्रिय महत्वका विविध विषय र समस्याहरू समाधान गर्नका लागि पार्टीको दृष्टिकोणसहितका मागपत्रहरू प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकामा ती मागहरूको सम्बोधन गरी देशको आर्थिक अवस्थालाई सहजतातिर लैजान कुनै प्रयास नगरेकोप्रति यो बैठकको गंभीर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक देशका समस्याहरू समाधान गर्नका लागि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई पेश गरेका मागपत्रहरूको कार्यान्वयन गर्ने दिशामा गम्भीर बन्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१०. प्यालेस्टाइनी भूमि गाजा क्षेत्रमा इजरायलले गरेको नृशंस आक्रमणप्रति यो बैठक निन्दा गर्दछ । यो बैठक प्यालेस्टाइनी जनताको भूमि, स्वतन्त्र राष्ट्र र सार्वभौमिकताको रक्षाको लागि संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावहरूप्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथाशिघ्र युद्धविराम गर्न आह्वान गर्दछ । त्यहाँ भइरहेको मानवीय संकट समाधान गर्न र मध्य पूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।

११. इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ । यो बैठक उहाँलाई सकुशल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुशल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।

१२. रूस–युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको छ । त्यसले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएका छन् । यो बैठक युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष—अप्रत्यक्षरुपले संलग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ ।

१३. अवैध बाटोबाट रूसी सेनामा केही नेपाली युवाहरू भर्ती हुन पुगेको खबरहरू प्राप्त भएका छन् । रोजगारीका नाममा यस्ता व्यक्तिहरू अन्तर्राष्ट्रिय मानव तस्करको चंगुलामा परेर युद्धको मैदानमा पुगेका छन् । यस्ता होनहार युवाहरू मध्ये केहीको मृत्यु भएको छ भने केही घाइते र बेपत्ता भएका छन । यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैर कानुनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष माग गर्दछ ।

१४. जलवायु परिवर्तन, वातावरणीय सङ्कट, सन्त्रास्त होडबाजी, सूचनामा एकाधिकार, युद्ध तथा द्वन्द्वले सिर्जना गरेको विस्थापन तथा शरणार्थी सङ्कट, अभाव र भोकमरीजस्ता आज दुनियाँले व्यहोरिरहेका समस्याहरूको मुख्य कारण आजको विश्व पुँजीवादी साम्राज्यवाद हो र त्यसका दुस्परिणामहरूले मानव जातिको भविष्य अनिश्चित बन्दै गएको तर्फ चिन्ता व्यक्त गर्दै त्यसका विरुद्ध संसारभरीका क्रान्तिकारी, प्रगतिशील तथा न्यायप्रेमी जनताले चलाएका सबैखालका अभियान, आन्दोलन तथा प्रतिरोधसँग यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ ।

१५. श्रमजीवी शिक्षक कर्मचारीहरूको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित गर्ने गरी कुनै पनि निर्णय नगरियोस् भन्ने कुरा यो बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ । विचारमा स्वतन्त्रता तथा सेवा प्रवाहमा निष्पक्षता तटस्थता र गुणस्तरीयता’ को नीतिका साथ शिक्षक कर्मचारीहरूको अधिकारलाई सुनिश्चित गर्न यो बैठक सम्बधित पक्षसँग माग गर्दछ ।

१६. विशेषगरी तराई मधेसका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न समुदायबीच असहिष्णुता, बैमनश्यता फैलाएर द्वन्द्व सिर्जना गर्ने कार्य भइरहेको छ । यो बैठक यस प्रकारका द्वश, असहिष्णुता र बैमनश्यता फैलाउने कार्यलाई कडाइका साथ रोक लगाउने, कार्वाहीको दायरामा ल्याउने र अशुरक्षित समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा सरकार अग्रसर रहोस् भन्ने माग गर्दछ ।

१७. ताप्लेजुब जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुब/पाथीभारा क्षेत्रमा केबलकार एक कम्पनीलाई राख्न दिने सर्तमा त्यहाँका आदिवासी लिम्बूहरूको मुन्दुमी पवित्रस्थल, जैविक विविधता, महत्वपूर्ण जडिबुटीको विनास तथा राष्ट्रिय फूल लालीगुँरासको लाखौं रुखहरू धमाधम काटिरहेको छ । यस जैविक विविधता र मुन्दुमी स्थल संरक्षणको लागि लिम्बूजन्य संघसंस्थाहरूले खबरदारी र सो विनाशलाई रोक्ने प्रयत्न गरी रहेका छन् । यो बैठक पवित्र मुन्दुमी स्थलहरूको संरक्षणको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ र तत्काल उक्तकार्य रोक्न तथा उक्त क्षेत्रलाई संरक्षण र सुरक्षित गर्न सरकारसँग माग गर्दछ ।

१८. खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी कानुन र नियमावलीलाई तत्काल कार्यान्वयन गर्न, दूध, उखु, तरकारी तथा अलैंची किसानहरूका जायज माग तुरुन्त पूरा गर्न यो बैठक सरकारसँग जोडदार रूपमा माग गर्दछ ।


Author

थप समाचार
x