Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

संसद्‍लाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्छ : माधव नेपाल

इकागज |
जेठ ६, २०८१ आइतबार १६:५० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले अहिले सहमतिका साथ जानु नै राम्रो हुने भन्दै सहमतिका साथ अघि नबढे ठूलो संकटमा परिने जिकिर गरे । उनले  नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने के-के संवैधानिक जटिलता खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्ने धारणा राखे ।


अध्यक्ष नेपालले संसद् अवरोधका विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि आफ्नो कुराकानी भएको भन्दै सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने उल्लेख गरे । उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नहरू सराहनीय रहेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा भएकाले आफूहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि स्पष्ट पारे । उनले नैतिकताको प्रश्न पनि खडा हुने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र द्विविधा नपाल्न आग्रह गरे ।

प्रधानमन्त्री दाहालले मंगलबार चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको स्मरण गर्दै कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको बताए ।

अध्यक्ष नेपालले सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको बताए । आफूहरूले देशमा स्थिरता, सहमति र सहकार्य होस भन्ने चाहेकाले देशभक्त लोकतान्त्रिक शक्तिहरू एक हुन आवश्यक रहेको उनको भनाइ छ ।


Author

थप समाचार
x