दल

गृहमन्त्री लामिछानेलाई भीम रावलको प्रश्न : मैले पत्रिकामा पढेको भन्दै पन्छिन मिल्छ ?

इकागज |
जेठ ७, २०८१ सोमबार १९:९ बजे

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति आक्रोशित बनेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै रावलले गृहमन्त्रीको आफूले कसैलाई आरोप नलगाएको र पत्रिकामा पढेको भनाइप्रति आक्रोश पोखेका छन् । उनले गृहमन्त्रीले  मैले पत्रिकामा पढेको भन्दै पन्छिन मिल्छ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले कुनै दलको महामन्त्री र सांसद राज्यका सूचना विदेशीलाई बेच्छ भन्ने समाचार र सूचना गृहमन्त्रीको जानकारीमा आएपछि जाँच र कारबाही गर्नु पर्ने बताए ।


यस्तै रावलले अरूको बारेमा छानबिन र कारबाही गर्ने अधिकार भएको सरकार र गृहमन्त्रीलाई नगर कसले भनेको छ ? भन्दै प्रश्न पनि गरे ।

आइतबार गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा कांग्रेस महामन्त्री गगन थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । लामिछानेले आज सामाजिक सञ्जालमा आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रित भएर नेता रावलले लामिछानेलाई प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, 'लोकतन्त्रमा पत्रकार जगत राज्यको चौथो अंग मानिन्छ । समाचारलाई अदालत लगायत सबैले जानकारीमा लिन्छन् । समाचारको आधारमा निर्णय गरिन्छन् । अनुसन्धान हुन्छ । कुनै दलको महामन्त्री र सांसद राज्यका सूचना विदेशीलाई बेच्छ भन्ने समाचार र सूचना गृहमन्त्रीको जानकारीमा आएपछि जाँच र कारबाही गर्नुपर्दैन र ? मैले पत्रिकामा पढेको भन्दै गृहमन्त्रीले पन्छिन मिल्छ ? गृह जस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिनेले अरूका बारेमा समाचार माध्यममा आएका विषयमा कारबाही भएमा मात्र मैले गरेको गैरकानुनी काममा कारबाही गर्न पाइन्छ भन्न मिल्छ ? अरूको बारेमा छानबिन र कारबाही गर्ने अधिकार भएको सरकार र गृह मन्त्रीलाई नगर कसले भनेको छ ? के राज्यका उच्च पदहरू हल्ला र स्वार्थ पूरा गर्ने हतियार हुन् ?'

 


Author

थप समाचार
x