दल

बालुवाटार बैठकमा कांग्रेस

'सहकारी प्रकरणमा पार्टीले उठाएका विषयलाई सम्बोधन हुने गरी नै छानबिन समिति बनाउनुपर्छ'

इकागज |
जेठ ११, २०८१ शुक्रबार १८:३८ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा पार्टीले उठाएका विषयलाई सम्बोधन हुने गरी नै संसदीय छानबिन समिति बनाउनुपर्ने जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले मूलभुत रूपमा आफूहरूले उठाएका विषयलाई सम्बोधन हुने गरी छानबिन समिति बनाउनुपर्ने भन्दै भाषा जस्तोसुकै राखे पनि फरक नपर्ने जनाएको हो ।


बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनका विषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा गएको देखिएको भन्दै उक्त सहकारीका साथै सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको विषयमा छानबिन हुन जरुरी रहेको बताए ।

छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्ने भन्दै उनले भाषाले कुनै फरक नपर्ने जिकिर गरे । त्यस्तै लेखकले कैलाश सिरोहिया पक्राउ शैलीको विरोध गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।

संसदमा गृहमन्त्रीले कांग्रेसप्रति लगाएको आरोप र लाञ्छनाका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै उनले दुवै विषयमा प्रधानमन्त्रीको जवाफ चाहेको लेखकले बताए ।  


Author

थप समाचार
x