बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान अर्थतन्त्रको चुनौतीलाई चिर्न र नवीन आशा जाग्ने गरी नयाँ सम्भावनाका साथ बजेट आउँछ भन्ने अपेक्षा रहेकामा त्यो नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, 'बजेट प्रस्तुत गरिरहँदा निरन्तरतामा नवीनता हुनुपर्ने हो त्यो देखिएन । अहिले बजारको जुन मूल्यवृद्धि छ त्यसलाई धान्न सक्ने आयको पक्ष हेरिएन ।'
अहिलेको अर्थतन्त्रमा देखिएको चुनौतीलाई सामना गर्ने, निजी क्षेत्रको मनोबल उठाउने, चुहावटलाई नियन्त्रण गर्ने, व्यापार घाटा कम गरी आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने र अर्थतन्त्रमा छलाङ मार्ने ढङ्गबाट बजेट नआएको उनको टिप्पणी छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बजेटले कृषिमा नयाँपन व्यक्त गरेको र देशका विभिन्न क्षेत्रमा विशिष्टिकृत रोजगारी सिर्जना गर्ने विषयलाई लक्षित गरेको पक्ष निकै सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, 'भौतिक पूर्वाधारको क्षेत्रमा यसपटक बजेट निकै विनियोजन भएको छ । यी नै बजेटका प्रमुख विषयहरू हुन् ।'
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता राजेन्द्रप्रसाद पाण्डेले संसदमा प्रस्तुत भएको बजेट समग्रमा ठीकै रहेको प्रतिक्रिया दिए । उनले भने, 'यो बजेट कति कार्यान्वयन हुन्छ कति हुन्न त्यसमा भर पर्छ । बजेटमा समेटिएका सबै विषयवस्तु कार्यान्वयन हुन ९५ खर्बभन्दा बढी चाहिन्छ । प्याज, आलुलगायतका अत्यावश्यक कृषिजन्य सामाग्रीमा भ्याट लगाइँदै आएकोमा हटाइएको छ त्यो राम्रो कुरा हो ।'
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले नीति तथा कार्यक्रमको सारतत्वलाई बोकेकाले बजेट राम्रो भएको बताए । 'मुलुकको अर्थतन्त्रलाई केही न केही अगाडि बढाउँछ भन्ने विश्वास जागेको छ,' उनले भने ।
जसपाकी नेत्री रञ्जुकुमारी झाले निजी क्षेत्रलाई लगानी गर्न उत्प्रेरणा दिने र तरकारीलगायत अत्यावश्यक वस्तुमा कर घटाउँदा गृहिणीका लागि खुसी पैदा गरेको प्रतिक्रिया दिइन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताए । 'बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ । यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभावकारिता निर्धारण हुन्छ,' उनले अगाडि थपे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया