दल

आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने

इकागज |
जेठ २४, २०८१ बिहीबार १७:५९ बजे

काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् । सामाजिक न्याय, सुशासनसहित आम जनताको सर्वोच्चताका लागि सक्रिय आईटी आर्मी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आवाज उठाउँदै आएको संगठन भएको उनले बताए ।


‘वैदेशिक रोजगारीमा गएकाहरूको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानी रहेको कहाली लाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ११ बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ साहले भने ।

आईटी आर्मीले २०८० साल जेठ २८ गते काठमाडौँ उपत्यकामा खबरदारी र्यालीमार्फत संघर्षको उठान गरेको थियो । २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

‘हामीले विभिन्न माग गरे पनि विडम्बना सो विषम समस्याको ठोस एवं दीर्घकालीन समाधान गर्नुको सट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेको भान हामीलाई भइरहेको छ,’ उनले भने ।

आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेश/नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री-भिसा फ्री-टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।

असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने घोषणा गरेको आईटी आर्मीले जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्य विभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ ।


Author

थप समाचार
x