दल

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

इकागज |
जेठ २६, २०८१ शनिबार १२:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् ।


महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन् । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।

“कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन”, उनले भने ।

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे ।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए ।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । “सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने ।

नेता पौडेलले गिरिबन्धु टि स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताए । गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उनले बताए  । 

नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताए ।
      
नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैजानुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सचिव पञ्चकुमारी श्रेष्ठले जनताका समस्या समाधानका लागि कांग्रेस लाग्नुपर्ने बताए ।

कांग्रेस काठमाडौँ महानगरपालिका–३ का सभापति विसम केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन मतदाताका घरघरमा पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । 


Author

थप समाचार
x