दल

नेपाली सेनामा गणतन्त्र आएको छैन- पृथ्वीसुब्बा गुरुङ

इकागज |
जेठ ३०, २०८१ बुधबार १४:४१ बजे

काठमाडौं - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउँदै सेनामा गणतन्त्र नआएको जस्तो आफूलाई लागेको टिप्पणी गरेका हुन् ।


उनले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्नेछ, सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,परम्परागत रुपमा चल्न दिनुहुँदैन ।’

नेपाली सेनाको बजेट परम्परागत भएको बताउँदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नसकेको बताए ।

उनले संवेदनशील अंग नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिनु कतिको जायज छ भन्दै प्रश्न गरेका थिए । गुरुङले सेनाको महत्वकांक्षा बढ्दै जादा त्यसले लोकतन्त्रमाथि नै खतरा हुनसक्ने समेत बताए ।

राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाई सबैको रहेको भन्दै यो सत्य नभएको उनले बताए । नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग भएपनि अन्य अंग नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि भूमिका रहेको बताए ।
    


Author

थप समाचार
x