दल

राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा के बोले ? सुमनाले जनाइन् आपत्ति

इकागज |
जेठ ३१, २०८१ बिहीबार ११:१५ बजे

फाइल फोटो

काठमाडौँ - शिक्षामन्त्री सुमना श्रेष्ठले संसदमा सांसदहरूले प्रयोग गरेका स्त्रीद्वेषी शब्दहरूबारे आपति जनाएकी छिन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सांसद राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा सम्बोधनको क्रममा बोलेका शब्दबारे आपत्ति जनाएकी हुन् ।

केसीले शिक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफलमा बोल्ने क्रममा 'सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला' भन्ने शब्द प्रयोग गरेका थिए । मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारेमा बोल्दा 'नारीलाई कसैको रहर पूरा गर्ने साधन'को रुपमा चित्रण गरेका थिए । 


मन्त्री श्रेष्ठले उनीहरूले गरेको तर्कले आफूलाई स्तब्ध बनाएको र यो कुतर्कप्रति घोर आपत्ति जनाएकी छिन् । उनले शिक्षा प्रणालीका कारण यस्तो स्थिति आएको बताइन् । 

'शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो', उनले भनिन्, 'समाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।'  


Author

थप समाचार
x