दल

काँग्रेसमाथि चौतर्फी आक्रमण हुन थाल्यो, पार्टी छाडेकाहरू घर फर्कनुस् : डा. शेखर

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १८:१२ बजे

फोटो कोइरालाको सचिवालय

जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्कन आग्रह गरेका छन ।

शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरू पछाडि पर्दै गएको उनले बताए  ।


कोइराला पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे ।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरू सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताएका छन् । कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।

कोइराला भने - 'यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो।'

जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे ।

'हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमीकमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौं'- कोइरालाले भने ।


Author

थप समाचार
x