दल

नेम्वाङलाई संसदीय दलको नेता बनाएर एमाले मिलाउने प्रयास

एमाले मिल्न नदिनेहरू सक्रिय हुँदा समस्या परेको हो : सल्लाहकार थापा

इकागज |
असार ५, २०७८ शनिबार २०:२२ बजे

काठमाडौँ : दुई खेमामा विभक्त एमालेको विवाद मिलाउन पार्टीका दोस्रो तहमा देखिएका नेताहरू लागि परे पनि निचोड निकाल्न सकेका छैनन् । उनीहरूले पछिल्लो समय मध्यमार्गी धार निकाल्ने प्रयास गरिरहेका छन् । हुनत, एमाले अध्यक्ष केपी शर्मा ओली निकटकाहरूले अबको केही दिनमा मिल्न नसकेको खण्डमा यो विषयमा छलफल नै नहुने बताइरहेका छन् । 

‘छलफल चलिरहेको छ । सकेसम्म मिल्ने तर्फ नै जाने हो । त्यसमा प्रधानमन्त्री खुला हुनुहुन्छ । उहाँले आफ्नो कुरा राखि सक्नु भएको छ । त्यही पेरिफेरीमा छलफल अघि बढेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अब, मिल्ने भए मिल्ने, नमिल्ने भए धेरै कचमच गर्न हुँदैन ।’  थापाले एमाले मिल्न नदिनेहरू सक्रिय हुँदा समस्या परिरहेको बताए । उनले भने, ‘एमाले मिलाउने भन्दा फुटाएर फाइदा लिनेहरू धेरै हुँदा असहज भएको हो । छिट्टै मिल्छ भन्‍ने आशा गरौँ ।’


संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई नै संसदीय दलको नेता बनाएर दुई खेमामा विभक्त पार्टी मिलाउने प्रक्रिया अघि बढेको एक नेताले बताए । नेम्बाङले त्यस विषयमा छलफल गरेको कुरा अस्वीकार गरे । एमाले नेताहरू नेम्वाङलाई दलको नेता बनाएर जाने विकल्पमा पनि कुराकानी भइरहेको बताउँछन् । विवाद समाधानका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा जुटेको पनि झण्डै दुई महिना पुग्‍न लागिसकेको छ । 

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल समूहका दोस्रो तहका नेताहरूको आन्तरिक छलफलले किन अझै टुंगो लगाउन सकेन भन्ने प्रश्‍नमा नेता भन्छन्, ‘विश्‍वासको खडेरी लागेपछि यस्तो हुन्छ । अहिले यही भएको हो । अब विस्तारै मिल्नेछन् ।’ अदातलको फैसला कुरेको पनि हुनसक्ने पनि अर्का एक नेताले बताए । 

उनीहरूले बिहीबार र शुक्रबार ललितपुरको एक होटलमा छलफल गरेका थिए । शनिबार पनि नेताहरू छलफलमा नै रहेको बताइएको छ । नेता नेम्वाङले वार्ता सकारात्मक रहेको र केही दिनमा शीर्ष नेता सम्मिलित संयुक्त बैठक बसेर टुंगोमा पुग्‍ने बताए । उनले भने, ‘मेरो बारेमा कुरा अघि बढेको छैन । हामी समग्र दल मिलाउन लागेका छौँ । केही दिनमा टुंगोमा पुग्छाैं । ’ 

नेम्वाङले आफू संसदीय दलको नेता हुने विषयमा सोचिनसकेको र त्यो स्तरमा कुरा नभएको प्रष्ट पार्दै भने, ‘विभिन्‍न विकल्पमा कुरा भएको छ । कतै न कतै पुगेर मिल्नै पर्छ । हामी छिट्टै एक जुट हुनेछौँ । प्रयास जारी छ ।’

वार्तामा नेपाल पक्षबाट सहभागी घनश्याम भुसाल भने अझै खुुसी भइहाल्ने बेला नभएको बताउँछन् । उनले केही समय अझै लाग्‍ने जस्तो देखिन्छ भन्दै भने, ‘विभिन्‍न विकल्प र तहमा छलफल भइरहेको छ । मिलेर जानुपर्छ भन्‍नेमा अधिक छौ तर कसरी मिल्ने भन्‍नेमा अझै टुंगो छैन ।’

ओली पक्षबाट नेम्वाङ, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतका नेता सहभागी भएको र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी हुँदै आएका छन् । प्रधानमन्त्री ओलीले पार्टीलाई जेठ-२ को अवस्थामा फर्काउने बताए पनि नेपाल पक्षले आशंका व्यक्त गर्दै आइरहेको छ । 

नेपाल समूहका केही नेताहरूले प्रधानमन्त्री ओलीले आश्‍वासन मात्रै देखाएको भन्दै सहमति नभएसम्म एमालेको कुनै पनि बैठकमा सहभागी नहुने अडान लिएका छन् । उनीहरूले नयाँ पार्टी खोल्न सुझाव दिए पनि केही नेताहरू पार्टी विभाजन गर्न नहुने पक्षमा छन् । दुवै पक्षका नेताहरु पार्टीलाई फूटबाट जोगाउन पर्ने भएको उनले बताए । 
 


Author

थप समाचार
x