दल

प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरूलाई बर्खास्त गर्नुपर्छ : सुवाल

इकागज |
असार ७, २०८१ शुक्रबार १८:५८ बजे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको शुक्रबार एक समारोहबीच दीप प्रज्ज्वलनका साथ उद्घाटन भयो ।

कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरूको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।


प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरूलाई बर्खास्त गर्नुपर्छ भन्दै उनले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राखे । भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरू सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिँदै उनले समस्याग्रस्त सहकारी संस्थाहरूको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भने ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको सधैं साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गरे । 

कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यमशील ऋण प्रवाह गरी युवाहरूलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै नगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताइन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले नगरसभा पूर्ण सफलताको कामना गर्दै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य तथा जिप्रकाबाट भइरहेको सेवा प्रवाहबारे जानकारी दिए । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले भक्तपुरको सेवा प्रवाह र विकास निर्माण कार्य देशकै लागि उदाहरणीय छ भन्दै भक्तपुर नपाले जनहितमा उत्कृष्ट कार्य गर्दै सबै क्षेत्रमा पारदर्शी र आर्थिक अनुशासनमा काम गर्दै आइरहेको बताइन् ।

त्यस्तै ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको गरिमा बढ्दै गइरहेकोमा गौरव अनुभूति भएको बताउँदै ख्वप अस्पतालले आजबाट ब्रम्हायणी भवनबाट आइसीयु सेवा सञ्चालन गरिने जानकारी गराए । ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरूलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताए । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए भने भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि सांसद सुवालले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रूपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भक्तपुर नपा वडा नं. १ का कविन्द्र कायष्ठलाई रु. १,५०,३१६। , भनपा ३ का मुकुन्दलाल प्रधानांगलाई रु. ३ लाख, भनपा ३ का सुनिल प्रजापतिलाई रु. १,४१,२१४।–, भनपा ४ का पूर्णभक्त ग्वाछालाई रु.१,६५,४५९।–, भनपा ४ का लक्ष्मीश्वरी कबुलाई रु. २,४१,२८७।– र भनपा ६ का राजेन्द्र अवाललाई रु. १,७०,५६२।– रुपैयाँ काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो । त्यस्तै भनपा वडा नं. ६ कै नारायणकृष्ण त्यातलाई रु. १,७०,२५६।–, भनपा ६ कै कृष्णबहादुर दुवाललाई रु. २,९३,३६१।–, भनपा वडा नं. १० का केशव शिल्पकारलाई रु. २,८२,२६७।– अनुदानस्वरुप प्रदान गरिएको थियो । भक्तपुर नपाले वितरण गरेको अनुदान रकम जम्मा रु. १९ लाख २४ हजार ७२५ रहेको छ ।


Author

थप समाचार
x