दल

वर्तमान सरकार आफैँ ढल्छ : शेखर कोइराला

इकागज |
असार ८, २०८१ शनिबार १८:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेश्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने भन्दै उनले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका हुन् । उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।


राजनीतिलाई अपराधिकरण गर्ने कार्य भइरहेको प्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन कानुन र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको धारणा राखे ।  राजनीतिमा अपराधिकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए ।

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार लगायतका नेताहरूले पार्टीभित्र रहेको गुट-उपगुटका कारण भातृ संस्थाहरूको निर्वाचन हुन नसकेको गुनासो गरे । 


Author

थप समाचार
x