दल

संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौं : सभापति देउवा

इकागज |
असार ८, २०८१ शनिबार २१:२८ बजे

लुम्बिनी- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन् । उनले संसदमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए ।


पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद थिए । 

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताए । उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्नेसमेत बताए । 

नवलपरासी क्षेत्र नं १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भए पनि यहाँका उत्पादनले बजार पाउन नसकेको बताए । प्रदेशसभा सदस्य वैजनाथ कलवारले यस क्षेत्रको विकासका लागि महेसपुर-सुनवल हुँदै महलपोखरीबाट पाल्पासम्म जोड्ने फराकिलो सडक निर्माणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको ध्यानाकर्षण गराए ।

सङ्घीय सरकारको रु एक करोड, पाल्हीनन्दन गाउँपालिकाको रु १३ लाख गरी कुल रु एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिए । 

यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् ।  

कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गरे । 'कांग्रेसको विचार, यसले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिका, देश र जनताका पक्षमा हाम्रो पार्टीले गरेका कामका बारेमा आम जनतामाझ पुर्याउने गरी प्रचार गर्नुपर्ने आवश्यकता छ । एकढिक्का भएर जनस्तरमा खटेमा पार्टीलाई कसैले हराउन सक्दैन,' सभापति देउवाले भने ।  उनले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गरेर जनतामाझ पुग्नसमेत सुझाव दिए ।


Author

थप समाचार
x