दल

निकुञ्‍जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन सांसद बर्तौलाको माग

इकागज |
असार ९, २०८१ आइतबार १३:५३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन् ।


उनले भनेका छन्- 'राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रश्न उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्तीक्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरूले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।'

उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउँदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए । 

उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।


Author

थप समाचार
x