दल

‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्ने’

इकागज |
असार १२, २०८१ बुधबार ६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न राष्ट्रिय महाधिवेशनबाट अनुमोदन हुने वैचारिक दस्तावेजले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि मंगलबार आयोजना गरेको सांस्कृतिक साँझ उद्घाटन गर्दै अध्यक्ष नेपालले महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध गर्ने बताए । उनले आगामी दिनमा कम्युनिस्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गरी देश र जनताको हितमा प्रयोग गरिने विश्वास व्यक्त गरे ।


संघीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउँदै उनले परिवर्तनको लाभ जनतासम्म पुर्‍याउन कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य गरी आवश्यक नीति तथा कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानले सबै नागरिकलाई समानताको अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास गर्न सकिने धारणा उनले राखे । संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको उनको भनाइ छ । उनले देश विकासका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनबाट वैज्ञानिक समाजवादका आधार तयार गर्ने बताए । उनले लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने उल्लेख गरे ।

महासचिव घनश्याम भुसालले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा उत्पादन वृद्धि तथा न्यायोचित वितरण गर्न समाजवादको कार्यान्वयनमा जोड दिए । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ । शीर्ष नेताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति गरिएको थियो । 


Author

थप समाचार
x