दल

नेपाल जनता पार्टी राप्रपा नेपालमा समाहित

इकागज |
असार १६, २०८१ आइतबार २०:५७ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् ।

आज नेपाल जनता पार्टी धिरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।


सहमतिपत्रमा 'देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्द्धनवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ नेपाल जनता पार्टी धिरेन्द्र झा समूह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा मन, बचन र कर्मले सशक्त रूपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौं' भनी उल्लेख गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र सम्बर्द्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको वैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गीण आर्थिक विकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक विकास हाम्रो प्राथमिकता रहने  तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषि, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने बताइएको छ ।

सहमतिअनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालको उपाध्यक्ष पदमा रहनेछन् । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरि पदाधिकारी, केन्द्रीय सदस्य, विभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानीय तहहरूमा सम्मानजनक जिम्मेवारी र भूमिका प्रदान गरिने सहमति भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x