दल

कांग्रेस र एमालेबीच सत्ता समीकरण फेरबदलको कसरत : दुवै दलका दोस्रो तहका नेता संवादमा जुट्दै

सुभद्रा धिताल |
असार १७, २०८१ सोमबार १७:५८ बजे

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बन्ने सम्भावना बढेको छ । सत्ता समीकरणकै लागि दुवै दलका दोस्रो तहका नेताहरू संवादमा जुटेका छन् ।

नयाँ समीकरणबारे छलफल गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरूलाई बोलाएको स्रोतले बतायो । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरू बालकोट जाने बताइएको छ ।


एक मन्त्रीले अध्यक्षले बोलाएको पुष्टि गरेका छन् । उनले आफूहरूलाई बोलाउनुको कारण थाहा नभएको बताए ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

स्रोतका अनुसार एउटा समीकरण हटाएर अर्को बनाउने भन्दा पनि संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा पुनर्विचार गर्ने, नागरिकमा देखिएको निराशालाई चिर्ने भन्दै साझा एजेन्डा निर्माणको तयारीमा नेताहरू जुटेका हुन् ।

पटक-पटकको अनौपचारिक छलफलपछि गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा लामो छलफल भएको थियो । सोही छलफलमा दुई दल मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको स्रोतले जनाएको छ  । 

स्रोतका अनुसार पटक-पटकका भेटघाटपछि देउवा र ओलीले शनिबार दुई दल मिलेर सरकार गठन गर्ने गरी मोटामोटी सहमति गरेपछि यसको थप आधार तयार गर्न दुवै दलबाट दोस्रो तहका नेताहरू पनि सक्रिय हुन थालेका छन् ।

यो प्रक्रियामा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक र एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेता सामेल रहेका छन् । 

स्रोतका अनुसार यस पटकको नयाँ समीकरण सत्ताभन्दा निश्चित राजनीतिक उद्देश्यका लागि हुनेछ । 

देउवाले ओलीको बालकोटस्थित निवासमै गएर छलफल गरेपछि दलहरूबीच भेटघाटको शृंखलाहरू बढेका छन् । सो भेटको तरंगपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष ओलीसँग आइतबार र सोमबार घण्टौंसम्म छलफल गरेका थिए ।

यसअघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग चार घण्टाभन्दा बढी छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको छ ।

यस्तै कांग्रेस-एमालेबीच सहमतिपश्चात् केपी ओलीलाई प्रधानमन्त्री बनाएर जाने चर्चा पनि चुलिएको छ । स्रोतका अनुसार प्रदेशमा पनि मिलेर जाने विषयमा छलफल भएको छ ।

यता नेपाली कांग्रेसले सरकारमा जानका लागि नयाँ समीकरण नबनाउने बताएको छ । विभिन्न दलहरूसँग राष्ट्रिय मुद्दाका विषयमा छलफल भइरहेको भए पनि सरकारमा जानका लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले दिए ।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्व नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताए । उनले दीर्घकालिन रूपमा सरकार चल्ने, अस्थिरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन विचार गर्ने बताए ।

यस्तै एमाले अध्यक्ष ओलीले पनि नयाँ समीकरणबारे धेरै खुलाउन चाहेनन् । उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफूले यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन ।’ 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।


Author

थप समाचार
x