दल

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने

इकागज |
असार १७, २०८१ सोमबार २२:२ बजे

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनीका साथै विमर्श सभा हुने भएको छ । 

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भोलि मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा स्व कोइरालासँग जोडिएका तस्बिर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा हुने जानकारी दिइएको हो ।


प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा पत्रकारले कैद गरेका एक सय ५१ भन्दा बढी तस्बिर राखिने जानकारी दिए । 'केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँग सम्बन्धित तस्बिरहरू रहनेछन्, ती तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्बित गर्नेछन्,' उनले भने । शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विश्वकर्माले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उनले त्यस अवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताए । 

‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहने र उक्त सत्रको सहजीकरण डा गेजा शर्मा वाग्लेले गर्ने जनाइएको छ । 

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा डा अच्युत वाग्ले, डा हरि शर्मा र डा मञ्चला झाले विमर्श गर्ने र डाक्टर विश्व पौडेलले सहजीकरण गर्नेछन् । यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेले विमर्श गर्नेछन् भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्नेछन् । प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिने छ । 

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री भएका थिए । विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहेका थिए । विसं १९८१ असार १८ गते जन्मिएका उनको २०६६ साल चैत ७ गते निधन भएको थियो ।


Author

थप समाचार
x