दल

एमालेले तत्काल मन्त्री फिर्ता नबोलाउने

इकागज |
असार १८, २०८१ मंगलबार १९:३७ बजे

काठमाडौँ- नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो । 

बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।


यस्तै प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

गएराति कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै वर्तमान सत्ता समीकरण भत्किएको थियो । सहमतिअनुसार कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।  जसमा सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको छ ।


Author

थप समाचार
x