दल

रास्वपा महामन्त्री ढकाल भन्छन्- मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरोस्

इकागज |
असार १९, २०८१ बुधबार १३:२४ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफूमाथि लागेका आरोपको जवाफ दिएका छन् ।

प्रेमिकालाई सांसद बनाएको भन्ने आरोपको जवाफ दिँदै ढकालले प्रस्तावमा आलोचना गर्नेहरूले नारीप्रतिको सम्मानलाई ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रस्तावमा मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् भनेका छन् ।


उनले भनेका छन्-
'गर्लफ्रेण्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गर्लफ्रेण्डको कुरा गरेर मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । "म जान पाइन, एक जना नारी जाने ? मेरो साटो " भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।'

त्यस्तै प्रस्तावमा उनले भनेका छन्- 
'मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केही नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार । पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस् ।'

र, यो पनि


Author

थप समाचार
x