दल

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

इकागज |
असार २१, २०८१ शुक्रबार १३:२४ बजे

काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । 

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ  । 


पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उनले बताएका छन् । 

प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरूले बुधबार नै राजीनामा दिएर सरकार छोडिसकेका छन् ।


Author

थप समाचार
x