दल

नेकपा एसले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने

इकागज |
असार २२, २०८१ शनिबार १६:३४ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठकले २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


नेकपा समाजवादीले महाधिवेशनबाट अध्यक्ष, महासचिव र सम्मानित नेताका साथै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । बाँकी सदस्यहरू चयनका लागि विधि र मापदण्ड तय गर्न आइतबार केन्द्रीय कमिटीको बैठक पुनः बस्ने खतिवडाले जानकारी दिए ।

बैठकले पार्टी पदाधिकारी चयन नभएकाले पार्टीको कामलाई अघि बढाउन अन्तरिम अवस्थाका लागि पुराना कमिटीका सदस्यहरूलाई नै जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ ।

बैठकले पार्टीको दशौँ महाधिवेशनको सामान्य समीक्षा गर्दै पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको छ ।


Author

थप समाचार
x