दल

नेकपा एसमा केन्द्रीय सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी इन्चार्ज र सचिवलाई

प्रधानमन्त्रीले विश्वासको मत लिँदा पक्षमा मतदान गर्ने

इकागज |
असार २३, २०८१ आइतबार १४:५६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । सिफारिस गरिएका सदस्यहरूको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले अबको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए ।


खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेखनीय सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रूपमा ग्रहण गर्ने बताए । त्यस्तै खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिए ।

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । 


Author

थप समाचार
x