दल

माओवादीलाई पनि साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिन्छ : योगेश भट्टराई

इकागज |
असार २४, २०८१ सोमबार १५:३७ बजे

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दलहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफूहरू संविधान संशोधन दुई तिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे । उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे ।


उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित रहेकाले कांग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।

भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधानलाई गतिशील बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।


Author

थप समाचार
x