दल

प्रचण्डलाई बाबुरामको आरोप : ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !

इकागज |
साउन २, २०८१ बुधबार १७:६ बजे

काठमाडौँ- डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि आरोप लगाउँदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहेको र केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहेको उल्लेख गरेका छन् ।


उनले भनेका छन्- 

'पहिले सत्तामा छँदा वहाहरूलाई सांसद संख्या पुर्याउनु थियो ! अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनाव चिह्न लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं ! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ !)

दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट विदा गर्यौं ! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ।

अहिले वहाॅहरू सडकमा पछारिनु भएको छ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।

निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? वहाहरू संविधान र कानून भन्दा माथि हो ? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुँदैन? सत्ता नै सबै थोक  हो? यसरी आउँछ ‘समाजवाद’ ?'


Author

थप समाचार
x