दल

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तीन दलको निष्कर्ष

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:४९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा (एकीकृत समाजवादी) का नेताहरूको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर बनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।


प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्त रूपमा उठाउने सहमति भएको उनले बताए । सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढ्ने बताए । उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे ।

तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ । 


Author

थप समाचार
x