दल

कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्‍नका लागि मात्रै होइन : प्रदीप ज्ञवाली

इकागज |
साउन ५, २०८१ शनिबार १६:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले शनिबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताए ।


उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा (२) नै भएको र उपधारा (२) मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे । उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए ।

उपमहासचिव ज्ञवालीले दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादी भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ ? भन्ने प्रश्न गरेका छन् ।

उनले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


Author

थप समाचार
x