दल

डा. शेखर कोइरालाले भनेः कांग्रेस र एमालेका मन्त्रीलाई गल्ती गर्ने छुट छैन

इकागज |
साउन ६, २०८१ आइतबार ११:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले दुई ठूला दल एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

आइतबार बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए ।


अब जनताले सुशासनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको जोड थियो ।

‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुन पनि सक्छ,’ उनले भने ।

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठीक छ भनेर चुप लागेर बस्न नहुने कोइरालाको तर्क थियो ।

उनले मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनको भनाइ छ ।

‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफूमै लड्छौं। बिपीले त यस्तो कहिल्यै सिकाउनु भएन । हिजोको त्यो आत्मीयता कहाँ गयो ?’- कोइरालाले प्रश्न गरे ।


Author

थप समाचार
x