दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

इकागज |
साउन ६, २०८१ आइतबार १४:५ बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा नेपाली कांग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले  विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ ।


बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्रीलगायत मन्त्रिमण्डललाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, बैठकले बङ्गलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेको उनले बताए । 

कांग्रेसले विगत केही समयदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरूको खोजी उद्धार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । 


Author

थप समाचार
x