दल

जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

इकागज |
साउन ७, २०८१ सोमबार १२:३७ बजे

फाइल फाेटाे

काठमाडौं - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

सहिद स्मृति प्रतिष्ठानले सोमबार  आयोजना गरेको 'वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र' विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् । 


'यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो ।  जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ', उनले भने, 'तीन तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यो भन्ने मलाई लाग्छ ।'

संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग खोल्ने वातावरण बनाउने  र अर्थतन्त्रलाई  ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए  । 

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो ।  नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिवद्ध  रहेको बताए ।


Author

थप समाचार
x