दल

पुष्पलालबारे समयमै सही मूल्यांकन गर्न नसक्दा कम्युनिष्ट आन्दोलनले क्षति व्यहोर्नुपर्‍यो : महासचिव पोखरेल

इकागज |
साउन ७, २०८१ सोमबार २०:१० बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबारे समयमै सही मूल्याङ्कन गर्न नसक्दा आन्दोलनले क्षति व्यहोर्नुपरेको बताएका छन् ।

काठमाडौँ जिल्ला कमिटीले ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘सङ्गठन निर्माण र परिचालन’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले कम्युनिष्ट पार्टी जन्माउने र विचार बुझेको नेता पुष्पलालबारे समयमा सही मूल्याङ्कन गर्न सकेको भए कम्युनिष्ट आन्दोलनले अझै छिटो प्रगति हासिल गर्न सक्दथ्यो भने ।  


उनले पुष्पलालको विचारले आजको कम्युनिष्ट आन्दोलनलाई पुनःगठन र पार्टीभित्र देखिएका समस्यालाई समाधान गर्न पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राखे । 'पार्टी स्थापनाको समयमा नेकपा र पुष्पलाल सैद्धान्तिक रूपमा सबैभन्दा बढी व्यवस्थित हुनुहुन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई धरातलमा उभ्याउने र रणनीतिक रूपमा सफल बनाउन उनको विशिष्ट योगदान छ तर त्यसको सही मूल्याङ्कन गर्न सकिएन,' महासचिव पोखरेलले भने, 'उहाँ जहाँ उमिनु हुन्थ्यो, त्यहाँ नेपाली राजनीतिको विचारधारा बन्ने गरेको थियो । अहिले पनि उहाँको विचारलाई अध्ययन र मनन गर्न सक्ने हो भने सङ्गठनात्मक समस्या र कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी थप सशक्त भएर अगाडि बढ्न सकिन्छ ।' 

उनले वर्ग दृष्टिकोणमा स्पष्टता नभएका पार्टीले आधारभूत जनतालाई राजनीतिकसँग जोड्न नसक्ने देखेपछि आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन पुष्पलालले विसं २००६ मा कम्युनिष्ट पार्टीको स्थापना गरेको उल्लेख गरे । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पुष्पलालको विचारबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x