Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

पुष्पलाल कुशल संगठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्यो : अध्यक्ष नेपाल

इकागज |
साउन ७, २०८१ सोमबार २०:१८ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनको योगदानको चर्चा गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए । उनले भने, 'तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालले सुरु गरेको कम्युनिष्ट आन्दोलनको यात्रा अहिले विभिन्न रूपमा सञ्चालन भएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा पटकपटक सरकार निर्माण भएका छन् । जनताको आर्थिक र सामाजिक रूपान्तरणका प्रयास भइरहेका छन् । यसमा पुष्पलाललगायत नेताहरूले गरेको योगदानको महत्वपूर्ण भूमिका छ ।'


अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहेका पुष्पलाल देश र जनताको हितमा जस्तोसुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राखे । 

त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतमलगायत नेताहरूले कार्यक्रम स्थलमा रहेको पुष्पलालको शलिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए ।

विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

जनअधिकार स्थापित गर्ने लक्ष्यका साथ विसं २००६ वैशाख १० मा पुष्पलालसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना गरेका थिए ।


Author

थप समाचार
x