दल

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्‍ने बेला भयो, अब ढिलो नगरौँ : कमल थापा

इकागज |
साउन ११, २०८१ शुक्रबार १६:३५ बजे

भक्तपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका छन् ।

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ति परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


ड्राइभर फेरेर, बस परिवर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिवर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे । बेरोजगारी समस्या, धर्म परिवर्तन, आर्थिक मन्दी, भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सही गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए ।

पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानुपर्ने भन्दै अध्यक्ष थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।

पार्टीको महाधिवेशनलाई समय सीमामा सक्न संरचना निर्माण, इकाई कमिटी गठन तथा पुनर्गठन कार्य गर्न समेत थापाले आग्रह गरे । प्रशिक्षण कार्यक्रममा डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला 'चुनेली' ले समेत प्रशिक्षण दिएका थिए ।


Author

थप समाचार
x