दल

माओवादी केन्द्र पदाधिकारी बैठक : अध्यक्ष दाहालले भोलि जवाफ दिने

इकागज |
साउन १४, २०८१ सोमबार १९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।


सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका हुन् । 

नेताहरूले उठाएको प्रश्नको मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवं सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राखेका थिए । 

नेताहरूको धारणालाई संश्लेषण गरेर अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।


Author

थप समाचार
x