दल

माओवादी केन्द्रले पार्टी पुनर्जागरण अभियान सञ्‍चालन गर्ने

इकागज |
साउन १५, २०८१ मंगलबार १६:५८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसंगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।


पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रूप दिने बताए । उनले गठबन्धन मार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले जानकारी दिए ।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए । 


Author

थप समाचार
x