Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

राप्रपाका सांसद सिंहले दिए एक वर्षको पारिश्रमिक रुइतलाई

इकागज |
साउन २२, २०८१ मंगलबार २०:५२ बजे

मकवानपुर - प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गरेका छन् । 

आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उनले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर रु नौ लाख ९९ हजार ९९ को चेक प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई हस्तान्तरण गरे । 


त्यस अवसरमा मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले निर्वाचनको बेला आफूले पाउने आर्थिक सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक संघ संस्थाको विकासमा सहयोग गर्ने उद्घोष गरिएअनुसार रकम हस्तान्तरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । समाजमा रहेका विपन्न, सीमान्तकृत आदिवासी जनजाति, दलितको स्वास्थ्य उपचार गर्ने काममा चिकित्सकले मानवीयताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन उनले आग्रह गरे । 

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइतले सातै प्रदेशका विपन्न, सीमान्तकृत समुदायका नागरिकको आँखाको शल्यक्रिया र उपचार गरी नयाँ जीवन प्रदान गर्न हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा आँखाको लेन्स उत्पादन गर्ने कार्यका लागि अहिले भवन निर्माण भइरहेको र सोही प्रयोजनका लागि सांसद सिंहबाट प्राप्त रकमलाई सदुपयोग गर्ने बताए । 

कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा सुनिल थकालीले हाल अस्पतालमा उपचार सेवाका लागि दैनिक तीन सयदेखि चार सय बिरामी आउने गरेको र जिल्लामै लेन्स उत्पादन भएमा नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । 


Author

थप समाचार
x