दल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु

इकागज |
साउन २५, २०८१ शुक्रबार १८:२४ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा विभिन्न चार एजेण्डामाथि छलफल सुरु भएको प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ,  वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डामाथि छलफल सुरु भएको उनले बताए ।


पहिलो एजेण्डाका रूपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पारित भएको र आगामी संसदको बैठकमा पेस हुने जानकारी गराएका थिए । बंगलादेश घटनाप्रति शिक्षा लिएर जनताको कुरा सुन्नुपर्नेमा पनि प्रचण्डको जोड रहेको सापकोटाले जानकारी दिए ।

त्यस्तै अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचारविरोधी काम अगाडि बढाउनुको सट्टा अहिलेको सरकारले त्यसलाई अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएको सापकोटाको भनाइ छ ।

त्यस्तै स्थायी कमिटी बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका प्रति दु:ख व्यक्त गर्दै परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ भने बस दुर्घटना, बाढीपहिरोबाट भएको क्षति न्यूनीकरण गर्दै पीडितलाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए । माओवादी स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने उनले जानकारी दिए ।


Author

थप समाचार
x