दल

माओवादी बैठक : शुद्धीकरण अभियान चलाउनुपर्नेमा प्रचण्डको जोड

इकागज |
साउन २६, २०८१ शनिबार १७:५७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


बैठकमा प्रचण्डले विगतको अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखे । त्यस्तै प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

कम्युनिष्ट वामपन्थीहरूलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरूसँग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिट्टै परिणाम निस्कने समेत धारणा राखेको सापकोटाले जानकारी दिए । बैठकमा प्रचण्डका साथै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत १३ जना सदस्यहरूले धारणा राखेको उनले बताए ।

बैठक आइतबार पुनः बस्ने सापकोटाले जानकारी दिए । जनपरिचालन, सङ्गठन निर्माण र विस्तार लगायतका एजेण्डामा केन्द्रित माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।


Author

थप समाचार
x