एमाले सम्बद्ध नेपाल बुद्धिजीवी परिषदको बूढानीलकण्ठ नगर कमिटी गठन, अध्यक्षमा श्रेष्ठ
काठमाडौँ- नेकपा एमाले सम्बद्ध नेपाल बुद्धिजीवी परिषदको बूढानीलकण्ठ नगर कमिटी गठन भएको छ । पूर्वसहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नगर कमिटी गठन भएको हो
कमिटीको उपाध्यक्षमा शारदा नेपाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिव केदारनाथ खतिवडा, सहसचिव ईश्वरी खनाल र कोषाध्यक्ष शान्ता भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा चन्द्र गुरुङ, रामजी लामिछाने, लक्ष्मण श्रेष्ठ, आरपी न्यौपाने, मानदास श्रेष्ठ, कमल थापा, रामचन्द्र धिताल, शिवबहादुर पण्डित, बलराम खत्री, लीलानाथ अधिकारी, दिनेश धिताल, पुण्यप्रकाश काफ्ले, रामचन्द्र खनाल, सूर्यबहादुर बोगटी, शिव भट्टराई, त्रिलोचन आचार्य, सुमन श्रेष्ठ, राम गौतम र नरेन्द्रबहादुर कँडेल चयन भएका छन् ।
कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सवालमा परिषदको उच्च योगदान रहेको बताएका छन् ।
‘७५३ स्थानीय तहमा नेकपा एमालेका तर्फबाट विकास र समृद्धिका काम अघि बढाउने सवालमा हामी अग्रमोर्चामा रहेर काम गरिरहेका छौं,’ उनले भने, ‘यसले पार्टीलाई पनि बलियो साथ र सहयोग मिलेको छ ।’
राष्ट्रिय पुँजी निर्माणमा परिषदले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ‘नगरको अब आउने नेतृत्वले नगरलाई समृद्ध बनाउने सवालमा उच्च योगदान र भूमिका निर्वाह गर्नुहुनेछ । समृद्ध नगर निर्माणमा आफूलाई समर्पित गर्नुहुनेछ,’ उनले भने, ‘हामीले यही उद्देश्यका साथ काम गर्यौं भने मिसन २०८४ पनि सफल हुनेछ ।’ बुद्धिजीवी परिषदका अध्यक्ष डा. देवकोटा योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।
त्यस्तै नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले राष्ट्रियताका सवालमा एकताबद्ध भएको परिषदको नगर कमिटीले बूढानीलकण्ठ नगरपालिकामा रहेका बुद्धिजीवीहरूलाई कसरी जोडेर लैजाने भन्ने योजना बनाउन सुझाव दिए ।
‘योग्य, क्षमतावान् र सक्रिय साथीहरूको जुझारु कमिटी गठन होस्,’ उनले भने, ‘जनसंगठन कस्तो बनाउने र कसरी सञ्चालन गर्ने भन्नेमा परम्परागत अवधारणा नभएर अलि फरक र उन्नत तरिका अवलम्बन गर्नुपर्छ र त्यसको नेतृत्व बौद्धिक वर्गले गर्नुपर्छ ।’ आफू बसेको टोल, वडा र नगरमात्र नभएर देशलाई नै कता लैजाने भन्ने कुराको नेतृत्व पनि बुद्धिजीवी परिषदले गर्नुपर्ने डा. भट्टराईले स्पष्ट पारे ।
नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य जयराम थापाले बुद्धिजीवी परिषदका सदस्यहरूले आ–आफ्नो पेसा व्यवसायमा रहेरै पार्टी सम्बद्ध जनप्रतिनिधिलाई सही मार्गनिर्देश गर्न तथा विकास र समृद्धिका सवालमा उपयुक्त भूमिका खेल्नुपर्ने बताए ।
नेकपा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाले कुनै पनि संगठनको नेतृत्वमा नै त्यसको भविष्य र सफलता निर्भर हुने भएकाले नेतृत्वको भूमिका महत्वपूर्ण रहने धारणा राखे । ‘नेतृत्व जति खट्न सक्छ, जति गतिशील बन्न सक्छ, त्यति नै पूरा कमिटी मुभ हुन्छ,’ उनले भने, ‘संगठनको सफलता पनि त्यससँगै जोडिएको हुन्छ ।’
नेकपा एमालेका नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले नगरभित्रका १४ वटा संगठनले सक्रिय रूपमा काम गरिरहेको जानकारी गराए । ‘बुद्धिजीवी परिषदको बूढानीलकण्ठ नगर कमिटीले पनि उत्तिकै सक्रिय भएर काम गरोस् भन्ने अपेक्षा छ,’ उनले भने ।
कार्यक्रममा बुद्धिजीवी परिषदका उपाध्यक्ष डा. दिपेन्द्र भण्डारीले कुनै पनि मुलुक समृद्ध बन्न विकसित विश्व समुदायले अवलम्बन गरिरहेको विकासको ढाँचालाई आत्मसात गरेर मौलिकतामा रुपान्तरण गर्नुपर्ने धारणा राखे । त्यस्तै बुद्धिजीवी परिषदका काठमाडौँ जिल्ला अध्यक्ष ओम बरालले पार्टीका संगठनलाई मार्गनिर्देश गर्दै र प्रशिक्षित गर्दै अघि बढ्न नगर कमिटीलाई सुझाव दिए ।
नेपाल बुद्धिजीवी परिषद मार्क्सवादी दृष्टिकोण राख्ने नेकपा एमाले सम्बद्ध वामपन्थी बुद्धिजीवीहरूको संगठन हो । २०४७ सालमा गठन भएको परिषदको केन्द्रीय समिति, केन्द्रीय समितिसँग आबद्ध भएका १५ वटा विभाग, पाँचवटा केन्द्र, सातवटा प्रदेश कमिटी र ७७ जिल्ला कमिटी छन् । परिषद ७५३ स्थानीय तहमै सक्रिय छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया