दल

जनार्दन शर्माले पार्टी फुटाउने विषयमा पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुन्छ : प्रचण्ड

इकागज |
भदौ १, २०८१ शनिबार १७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनार्दन शर्माले पार्टी फुटाउने विषयमा पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुने बताएका छन् ।

माओवादी केन्द्र काठमाडौँ–रुकुम पश्चिम सम्पर्क समन्वय समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा स्थायी कमिटीको बैठकले पार्टी फुटको भ्रमलाई खारेज गरेको भन्दै पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुने बताएका हुन् । स्थायी कमिटीमा शर्माले राखेका विषयहरू फरक मत नभएको भन्दै प्रचण्डले पार्टीभित्रका बहसमा आएका सुझावहरूलाई थप सुदृढ पार्नका लागि छलफल चलाइने स्पष्ट पारे ।


प्रचण्डले पार्टीभित्र भएका बहसले पार्टीलाई थप बलियो बनाउन मद्दत नै पुर्याउने जिकिर गरे । प्रचण्डले पार्टीभित्रका भ्रम अन्त्य भइरहेको अवस्थामा यसलाई थप उचाल्न जरुरी नरहेको समेत बताए ।

त्यसअघि कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी हेडक्वाटरबाटै आफूले पार्टी फुटाउने भ्रम फैलाइएको बताए । पार्टीलाई बलियो बनाउन आफूले राखेको मतलाई असत्य सावित गर्दै आफ्नो बदनाम गर्न खोजिएको उनले बताए । शर्माले माओवादीबाहेक अर्को पार्टीमा जानेबारे कल्पना गर्न नसकिने स्पष्ट पारे ।

त्यस्तै उनले पार्टीका लागि आफू कहिले कांग्रेस र कहिले एमालेसँग वार्ता गरेको भन्दै माओवादीको हुने ठाउँ छ कि छैन भन्दै प्रचण्डलाई प्रश्न गरे । 


Author

थप समाचार
x