दल

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

इकागज |
भदौ ३, २०८१ सोमबार १३:८ बजे

फाइल फोटो

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ । यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यको कार्यादेश तय गरेका छन् । त्यसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने केन्द्रीय सदस्य बस्नेतले बताए । 


उनले भने, “विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायत विषयको उजागर गर्ने कामसमेत अभियन्ताले गर्नेछन् ।”

पार्टीका चार सय १५ केन्द्रीय अभियन्तालाई पार्टीको आदर्श संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य, समाजवादी लोकतन्त्रको अवधारणाबारे र समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेतालाई अभियानमा खटाइने भएको छ ।

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरेको छ । जसपा नेपालको गएको साउन ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यलाई अभियन्ताका रुपमा चार महिना पालिकामा सङ्गठन निर्माणका लागि खटाउने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतले बताए । 


Author

थप समाचार
x