दल

केपी ओलीलाई वर्षमानको सुझाव : सहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्

इकागज |
भदौ ४, २०८१ मंगलबार ८:१७ बजे

फाइल तस्बिर

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । 
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’


आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए । उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हड्‌पिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे ।

माओवादी सशस्त्र जनयुद्ध २०६२/०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको पुनले बताए ।

‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं । हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरू भ्रष्टाचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं । खबरदारी गर्छौं’, पुनले भने । पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए । 

फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरू सरकारबाहिर आउनु परेका कारण नआत्तिएको बताए । तर, काँग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे । ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘काँग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन जाला भन्न थाल्नुभएको छ ।’

सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनको थियो । पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै सचेत रहन सुझाव दिए । आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई उनले आग्रह गरे । 

फरक प्रसंगमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए । जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौं आधुनिक विद्यालय भवनहरू निर्माण भएको तथा सिंचाई र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे । उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सृजना गर्ने योजनासहित आफूहरूले काम गरिरहेको चर्चा गरे ।


Author

थप समाचार
x