दल

माओवादी बागमती परामर्श बैठक : पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव

इकागज |
भदौ ६, २०८१ बिहीबार १८:२१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा उनीहरूले पार्टीभित्र उन्नत स्तरको बहस सिर्जना गर्दै त्यसलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । काठमाडौँ उपत्यकामा नयाँ कार्यक्रम विकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरूलाई जोड दिँदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका सुझाव आएको उनले बताए ।


उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको जिकिर गरे । सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्ने लगायतका सुझाव आएको पनि बताए । उनले सबै परामर्शको सुझावका आधारमा केन्द्रीय समितिले नयाँ योजनाका साथ निर्णय गर्ने उल्लेख गरे ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो । सोही अनुसार क्रमश: उपत्यका विशेष तथा सम्पर्क समन्वय, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश लगायतको परामर्श बैठक बैठक बस्ने माओवादीले जनाएको छ ।


Author

थप समाचार
x