माओवादीलाई कसैले फुटाउन सक्दैन : प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल 'प्रचण्ड' ले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरूले पटक पटक गरे पनि कसैले फुटाउन नसक्ने बताएका हुन् । केही समयपछि फुटेर गएका माओवादीहरू पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए ।
प्रचण्डले पार्टीलाई बलियो बनाउँदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे ।
उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे । अहिलेको सरकार भ्रष्टाचारीहरूकै सरकार भएको उनले आरोप लगाए ।
प्रचण्डले अँध्यारोमा रमाउनेहरूलाई अहिले उज्यालो मन नपरेको भन्दै अँध्यराका पक्षपातीहरूले विद्युत् बक्यौतामा विवाद निकालेको तर्क गरे । त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षडयन्त्र माओवादी रहँदासम्म सफल हुन नदिने स्पष्ट पारे ।
उनले आत्मसमीक्षाका साथ जनताको घर घरमा जान र माओवादीले गरेका कामहरूका बारेमा जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया