दल

कसैले भनेकै भरमा संविधान संशोधन सम्भव छैन : माधव नेपाल

इकागज |
भदौ ९, २०८१ आइतबार १९:३० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैले भनेकै भरमा संविधान संशोधन सम्भव नरहेको बताएका छन् ।

आइतबारबाट काठमाडौँमा सुरु पार्टीको पहिलो पूर्ण पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै दलले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको बताएका हुन् ।


उनले सबै दलसँग सहकार्य र सहमति गरेर राष्ट्रिय आवश्यकताका आधार संविधान संशोधन हुनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले विद्रोह गरि नयाँ पार्टी बनाउने कदम ठीक रहेको भन्दै पार्टीको भविष्य राम्रो रहेको बताए ।

नेपालले आफूहरूले विद्रोह गरेका कारण राजनीति ठीक दिशामा आएको र संविधान बच्न सफल भएको उल्लेख गरे । कम्युनिष्ट आन्दोलनमा धेरै गुटबन्दी धेरै देखापरेको भन्दै वस्तुनिष्ठ समीक्षा गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए । अध्यक्ष नेपालले पार्टी नीतिविपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।

त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले तीन वर्षमा पार्टीले गरेको प्रगतिको ठोस र व्यवस्थित ढंगले समीक्षा गर्दै आगामी तीन वर्षको रणनीति बनाउनुपर्ने बताए । उनले विभिन्न जनचासोका मुद्दाहरूलाई उठाउँदै सडक आन्दोलन गर्नुपर्ने उल्लेख गरे ।

बैठकमा केन्द्रीय संरचनाहरूको गठन, पदाधिकारी छनोटलगायत विविध विषयमा छलफल हुने समाजवादीले जनाएको छ । गत असरमा सम्पन्न महाधिवेशनले पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो  । 


Author

थप समाचार
x