Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

जब धनराजलाई शेखरले भने सभापतिको उम्मेदवार हुँ जिल्ला-जिल्ला जानूहोस्...

इकागज |
भदौ १०, २०८१ सोमबार १९:२ बजे

काठमाडौँ- आइतबार दिउँसो नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित समूहको बैठक बस्यो । विशालनगरस्थित कोइरालाकै सचिवालयमा समूहको बैठक बसेको थियो । उक्त बैठक पार्टी उपसभापति धनराज गुरुङले डाकेका थिए । बैठकको संयोजन गुरुङले गरेका थिए ।

बैठकमा समसामयिक राजनीति, पार्टीको महाधिवेशन र सरकारका पछिल्लो काम कारबाहीको विषयमा छलफल भयो । बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, केन्द्रीय गणेश लामा, बलबहादुर केसी, दीपक गिरी, गोविन्द पोख्रेल र सांसद प्रतिमा गौतम लगायतका अन्य नेताहरूको उपस्थिति थियो ।  


पछिल्लो समय पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको समयमा कोइराला समूहको बैठकलाई महत्त्वपूर्ण नजरले हेरिएको छ । किनभने केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा डा.कोइराला स्वयंले पार्टीको १५ औँ महाधिवेशनको मितिको बारेमा प्रश्‍न र संशय व्यक्त गरेका थिए ।

केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई जवाफ दिन बाध्य पार्ने गरी महासमिति सदस्यको बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि समितिमा छलफल चलिरहेको छ । देउवाले महासमिति बैठकमा पेस भएका प्रतिवेदनबारे छलफल गर्न महामन्त्रीद्वय थापा र शर्मासँग छुट्टै बैठकको तयारी गरेका छन् । 

उनीहरू दुवैजना संस्थापन इतरपक्ष मानिन्छन् । कोइराला समूहले पनि उक्त प्रस्तावलाई नजिकबाट नियालिरहेको छ । आखिर पार्टी पनि सरकारमा सहभागी छ । किन यहीँ बेला कोइराला समूहको बैठक बस्यो ? के लागि बस्यो उक्त समूहको बैठक ?

पार्टीको १५ औँ महाधिवेशन नजिकिँदै छ । जिल्लादेखि प्रदेशका नेताहरू महाधिवेशनको दौडमा लागिसकेका छन् । केहीले आसन्न महाधिवेशनलाई लक्षित गरी आफ्नो दौडलाई तीव्रता दिन थालिसकेका छन् ।

हाल पार्टीको केन्द्री सभापतिमा शेरबहादुर देउवा छन् । उनी यसअघि पनि सभापति भइसकेकाले आगामी महाधिवेशनमा उनको उम्मेदवार अनिश्चित छ । किनभने उनी पार्टीको सभापति दुई पटक भइसकेका छन् ।

महाधिवेशनमा देउवासँग प्रतिष्पर्धा गरेका डा. शेखर कोइराला सभापतिको उम्मेदवार थिए । आगामी १५ औँ महाधिवेशनमा डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी रहने सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । साउन ३१ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग डा. कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी १५ औँ महाधिवेशनमा स्वतः सभापतिमा दाबी रहने बताएका थिए ।

सार्वजनिक स्थानमा आफ्नो उम्मेदवारीको विषयलाई अन्यथा नलिन उनले सबैमा आग्रह गरिसकेका छन् । नेता कोइरालाले उम्मेदवारकै विषयमा देशभर भ्रमण गरेर नेता कार्यकर्तासँग भेटघाट गरेर जानकारी गराइसकेका छन् ।

समूहको हिजो बसेको उपसभापति गुरुङसहितको बैठकमा डा. कोइरालाले आगामी महाधिवेशनको समय नजिकिँदै आएको बताएका थिए । आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहने बैठकमा सहभागी सबै नेतालाई जानकारी गराए ।

उनले छलफलमा स्थानीय तहदेखि प्रदेशसम्मका नेता कार्यकर्तालाई आगामी महाधिवेशनमा लाग्नुपर्ने बताएका थिए । सहभागी एक नेताका अनुसार पार्टी उपसभापति धनराज गुरुङलाई डा.साबले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार आफ्नो रहने भएकाले अहिलेदेखि महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनु भएको छ ।

कोइरालाको भनाइ उदृत गर्दै ती नेताले भने, 'उपसभापति जी अब जिल्ला-जिल्लामा गएर महाधिवेशन सफल बनाउन र आफ्नो समूहलाई विजयी गराउन सक्रिय भएर लाग्नुहोस् । त्यसका लागि के गर्नुपर्छ सबैथोक गर्न म तयार छु ।'


Author

थप समाचार
x