विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन एमालेको ध्यानाकर्षण
काठमाडौँ- नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरू खासगरी सत्ताबाट बाहिरिएसंगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरू र प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दै सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
त्यस्तै बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटब्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले जानकारी दिए । नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए ।
बैठकले यही भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया